मिति त मलाई थाहा भएन, रेडियो नेपालमा फत्तेमानसँग मेरो भेट भएको थियो । म न्युरोडको ग्रिन होटलमा बसेको थिएँ । रेडियो नेपाल गइरहन्थें; उहाँ पनि आउनुहुन्थ्यो । त्यसको केहीपछि हामी अत्यन्तै मिल्ने साथी बन्यौं । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हाम्रो मित्रता बलियो बनायो । म त्यहाँको सङ्गीत निर्देशक थिएँ; उहाँ पनि त्यहीं कार्यरत हुनुहुन्थ्यो । त्यहाँ नियमित भेटघाटले हाम्रो ‘इन्टिमेसी’ पनि बढ्दै गयो । रमाइलो पनि धेरै गरियो । उहाँ पनि मजस्तै खानपिनको सोखिन । कहिले उहाँकोमा, कहिले मेरोमा आउने–जाने भइरहन्थ्यो ।
लामो समय सँगै काम गर्दा हामी धेरै घनिष्ठ भयौं । त्यो घनिष्ठता पछिल्लो समयमा पनि थियो । करिब दुई दशक हामी एकदमै नजिकै थियौं र सँगै काम ग¥यौं । फत्तेमानले प्रज्ञा प्रतिष्ठान छोडेपछि हाम्रो भेटघाटचाहिँ अलि पातलियो तर मित्रवत् व्यवहार भने पछिल्लो समयसम्म रहिरहेकै थियो । पछिल्लो समयमा शारीरिक अस्वस्थताले गर्दा पनि धेरै भेटघाट हुन सकेन । पछिल्लो पटक हेटौंडामा एउटा कार्यक्रममा भेट भएको थियो । फत्तेमानले यति चाँडै हामीलाई छोडेर गइहाल्नुहुन्छ भन्ने लागेको थिएन । हुन त सबैको बाटो उही हो । एक न एक दिन हामी सबैले संसार छोडेर जानैपर्छ । अझै धेरै वर्ष फत्तेमान हामीमाझ रहनुपथ्र्यो । एक विशिष्ट गायकले हामीलाई छोडेर जानुभयो । मैले सिर्जना गरेका धेरै गीत उहाँकै स्वरमा रेकर्ड होऊन् भन्ने मेरो चाहना हुन्थ्यो । मेरा थुप्रै सङ्गीत सिर्जनामा उहाँले गीत गाउनुभयो । गोपालप्रसाद रिमालको रचना ‘रातो र चन्द्र सूर्य’ धेरै लोकप्रिय पनि भयो ।
(सभार: सम्झनामा फत्तेमन पुस्तकबाट)