नेपाली संगीतका नक्षत्र फत्तेमान राजभण्डारीको जन्म बि.स. १९९३ साल मार्ग १३ गते भएको हो l नेपाली संगीत ईतिहासमा फत्तेमानको योगदान अतुलनीय छ l फत्तेमानको संगीत प्रतिको रुचि बाल्यकाल देखिनै थियो l गीत संगीतमा लगाव बढ्दै जाँदा भजन, नाटक कार्यक्रमहरूमा पनि भाग लिदै गए l संगीतको ज्ञान आफ्नै पिताबाट प्रेरणा र अनौपचारिक शिक्षा पाएका फत्तेमानले पछि उस्ताद गुरुदास, प्रोफेसर रामप्रसादबाट औपचारिक रुपमै संगीत सिके l संगीतलाई आफ्नो उर्जा शक्तिको रूपमा पुजा गरि आफ्नो सम्पूर्ण जीवन साधनामा तल्लीनभई आफ्नो पहिचान हामी माझ बनाएका छन् l बि.स. २०२५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा रचना यादव खरेल, संगीत नातिकाजीको “यस्तो पनि हुदो रहेछ...” गीत प्रथम भएपछि रेडियो नेपालमा धेरै आधुनिक गीत, भजन तथा रास्ट्रिय गीत रेकर्ड गराए l त्यसपछि संगीतकार नातिकाजीको सामिप्यमा रहेर गाएका सबै गीतहरू लोकप्रिय भए l
गायक / संगीतकार
पिता जितमान र माता पूर्णमाया राजभण्डारीका कान्छा छोराको रुपमा बि.स. १९९३ साल मार्ग १३ गते जन्म भएका थिए l काठमाडौंको पशुपति क्षेत्र देवपाटनमा जन्मेका फत्तेमान पशुपति मन्दिर परिसर मुक्ति मण्डलमा हुने भजनबाट प्रभावित भएर आफ्नो पितासंग नित्य भजनमा जाने गर्दथे l पशुपति क्षेत्र परिसरमा नेपाल तथा भारतबाट आएका बिभिन्न भक्त तथा साधु बाबाहरुको प्रभावले बिभिन्न कार्यक्रमहरूमा सरिक हुदै गए l आफ्नो पिताको किराना पसल पशुपति मन्दिर नजिकै थिएकोले घरायसी सहयोग पनि गर्दथे l फत्तेमानको स्वर मिठो भएकोले ७ बर्षको उमेर देखिनै नित्य भजन गर्दा खेरि यिनको भजन सुन्ने भक्तहरू पनि धेरै थिए l अध्ययन भन्दा पनि पाशुपति क्षेत्रको भजन कार्यक्रमहरूमा भाग लिने, फुटबल खेल्ने, पौडी खेल्ने सौख बढी थियो l फत्तेमानका बाल्यकालका साथीहरूमा कुमार बहादुर, बासु शशी, कृष्णमान मानन्धर, मुकुन्द बैद्य, सुबर्ण बैद्य आदि थिए l
गायक फत्तेमानको जीवन संगीत साधनामै बित्यो l अत्यन्त प्रिय र गायकको रुपमा चिन्दथे l हरेक बिहान हार्मोनियम बजाएर रियाज गर्दथे l आफ्नो काम प्रति निष्ठावानभइ लागिरहने, कसैको कुरा नकाट्ने, सबैको भलो चाहने व्यक्तित्व थिए फत्तेमान l सरल र संक्षिप्त कुरा गर्ने, प्राय: नेपाली टोपी नछोड्ने, बाहिरबाट हेर्दा खरो स्वभाव भएपनि अरुसंग एकदमै रमाईलो र ठट्टा गर्न मन पराउने स्वभाबका थिए l आफ्ना समकालीन दौतरी तथा अग्रज र अनुजहरूलाई पनि समान व्यवहार गर्दथे l आफ्नो जीवनमा संगीतका बाहेक अनेकौ घरायसी उतार चढाव भएतापनि कहिल्यै बिचलित नभई बिकेकपूर्ण तरिकाले समस्या समाधान गर्दथे l धुम्रपान र मध्यपानका लत धेरै थिए l खानाका सौखिन फत्तेमानले नेवारी परिकार एकदमै मन पराउंदथे l
निरन्तर संगीत साधनामा लागेका कारण फत्तेमान ८ बर्षमानै परिचित भैसकेका थिए l २०१३ सालमा बासु शशीद्वारा रचित “ताचाप्वायँ” (साँचोको झुप्पा) नेवारी नाटकमा अभिनय तथा गीत गाएका थिए l २०१८ सालमा भजनहरू रेकर्ड गरेर रेडियो नेपाल प्रवेश गरेका थिए l संगीतकार नातिकाजीले स्वरको कर्णप्रियताको कारण आधुनिक गायन तर्फ पनि प्रवेश गराएर आफ्नो गायकीबाट नयाँ उचाई प्राप्त गरे l आधुनिक तर्फ यस्तो पनि हुदो रहेछ , मर्न बरू गाह्रो हुन्न, सान्नानीको गालैमा, कस्तो माया लाइएछ, तिम्रो एक एक तथा भजन तर्फ जड देह यो अवश्य, हे निराकार निरन्जन प्रभो, तिम्रो मन्दिर आएँ. भक्ति नभईकन भजन आदि नातिकाजीका संगीतका गीतहरू निकै लोकप्रिय भए l त्यस्तै अम्बर गुरुङका जीवन हुरी, रातो र चन्द्र सूर्य अनि नारायण गोपालका बनै खायो डढेलोले, जिन्दगीका पाना भरि, नचिनेझै गरौ आदि गीतहरू चालिस दशक सम्मका उत्कृष्ट गीत हुन् l त्यसबेला फत्तेमानले आफ्नो संगीतको साथै अन्य धेरै संगीतकारहरूको संगीतमा गीतहरू गाए l नातिकाजी, शिबशंकर, अम्बर गुरुङ, कोइलीदेवी, ज्ञान बहादुर, कृष्णमान, भैरव बहादुर थापा, गणेश रसिक, नारायण गोपाल, भक्तराज, मदन परियार, बुलु मुकारुङ्ग, राम थापा आदिका संगीतबद्द गीतहरू गाएका छन् l त्यस्तै रचनाकारहरूमा यादव खरेल, भैरवनाथ रिमाल, काली प्रसाद रिजाल, तीर्थराज तुलाधर, सहदेव राणा, राममान तृषित, छिन्नलता, ईश्वर बल्लभ, राजेन्द्र थापा, लक्ष्मीप्रसाद देवकोटा, माधव प्रसाद घिमिरे, सिद्धि चरण, गोपालप्रसाद रिमाल, रत्न शमशेर थापा, म.बी.बि. शाह, जी शाह, शिव अधिकारी, ज्ञानु भण्डारी, श्री पन्त, प्रमोद ढुंगाना, राजेन्द्र रिजाल, पवन चाम्लिङ, शारदा बिक्रम बस्नेत, खेमराज केशबशरण, लक्ष्मण लोहनी, केशव लोहनी, रामविक्रम सिजापति, राममणि रिसाल, श्यामदास बैष्णव, पुरुषोत्तम सापकोटा, ठाकुरप्रसाद लुइटेल, कंचन पुडासैनी आदिका गीतहरू गाएका थिए l रेडियो नेपाल र प्रज्ञा प्रतिष्ठानमा पनि जागिर गरेर संगीत क्षेत्रको सेवा गरिनै रहे l चालीसको दशक सम्म भजन, आधुनिक गीत, रास्ट्रिय गीतहरुमा नयाँ आयाम र पृथक पहिचान बनाउन सफल भए l
पचासको दशकपछि फत्तेमानले नयाँ प्रतिभाहरूको रचना संगीतहरूमा गीत गाउन थाले l बिचमा केहि समय संगीतबाट ओझेल परेको बेलामा नेपालयले २०५९ साल श्रावण २५ गते, बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरेको फत्तेमान साँझले ठुलो परिचय स्थापित गरायो l ६५ बर्षको उमेरमा पनि बेजोड प्रस्तुति गरे l त्यसपछि हेटौडा, नारायणगढ, तानसेन, पोखरा, पाटनमा पनि संगीत साँझ गरियो l नयाँ रचनाकार, संगीतकारहरूको पनि गीतहरू गाए l रचनाकार राजेन्द्र सारा, मन्जुल, अरुण सायमी, उषा शेरचन, उन्नती बोहरा “शिला”, नरेशदेव पन्त, आभाष, बिक्रम सुब्बा, तिर्थ श्रेष्ठ, कृष्ण के.सी., बुद्दिसागरका गीतहरूले गाए भने संगीतकारहरूमा नारायण ओली, आभाष, मिलन मोक्तान, हरि लम्साल, कालीप्रसाद बासकोटा आदिका गीतहरू गाए l सबै गीतहरू श्रोताको हृद्यमा बस्न सफल रहे l ती गीतहरू हुन् - झरेको फुल होईन, झरी पर्यो मनमा, रीत बिना, किन आउंछ, बतासले तलाउमा, मर्छु र म, भो है तिमी, रातको सपना बाकी हुन्न, के भो के भो लौन आज, के ल्यायौ जन्मिदा, म चुपचाप कहानी भए(मैले जे भोगे कार्यक्रमको गीत), मैले पिए धेरै पिए आदि गीतहरू उत्कृष्ट गीत र संगीतको कारणले धेरैनै नयाँ उचाई लिए l त्यस्तै भुषणप्रसाद श्रेष्ठको नेवारी गीत “छ गजल जि गजल” पनि निकै लोकप्रिय भयो l संगीत शिला प्रतिष्ठान, रोटरी क्लबबाट आयोजना गरेको फत्तेमान साँझ सफल भए l जीवनको उत्तरार्द्ध सम्म पनि गायनमा तल्लीन रहे l के ल्यायौ जन्मिदा, म चुपचाप कहानी भए(मैले जे भोगे कार्यक्रमको गीत), मैले पिए धेरै पिए आदि गीतहरू अन्तिम गीत मानिन्छ l