फत्तेमानको गीतका बारेमा गरिएका टिप्पणी_लेख
फत्तेमानका अविस्मरणीय गीतहरु

-रीता महर्जन

भक्ति संगीतबाट आफ्नो संगीतको यात्रा प्रारम्भ गर्नुभएका नेपाली सांगीतिक क्षेत्रको विकासमा अनवरत जीवन अर्पण गर्दै संगीतमा समर्पित संगीत महारथी फत्तेमान राजभण्डारी वि.सं. २०७० भाद्र २५ गते मंगलबार ऋषि पञ्चमिको दिन सूर्य उदाउनुअघि मध्यरात १२:५० बजे ईश्वरमा लीन हुनुभयो । असंख्य प्रशंसकहरुलाई मर्माहत गरेर फत्तेमान हामीबाट भौतिक रूपमा बिदा हुनुभयो । तर जीवनभर संगीतप्रति समर्पित उहाँका अमरत्वप्राप्त गीतसंगीतहरु मार्फत उहाँ सदा स्मरणीय महान् सांगीतिक हस्तीका रूपमा नेपाली जनमानसमा जीवन्त रहनुहुनेछ ।

फत्तेमानको सांगीतिक प्रेरणा नातिकाजी हुनुहुन्थ्यो । नातिकाजीसँगको सांगीतिक संगतमा फत्तेमानको गायकी परिष्कृत र विकसित हुँदै गयो । फत्तेमानले अधिकांश गीतहरु नातिकाजीको संगीतमा गाउनुभयो ।

  • मर्न बरू गाह्रो हुन्न .....
  • मिलन पनि देखिसकें .....

यी दुवै गीतका संगीतकार श्रद्धेय नातिकाजी हुनुहुन्थ्यो भने शब्द रचना क्रमश तीर्थराज तुलाधर र डा. राममान तृषितको हो । फत्तेमानलाई परिचित र श्रोतामाझ लोकप्रिय बनाउने यी सदाबहार गीत उत्कृष्टताको परिचायक हो । यसलाई नातिकाजीसँगको सांगीतिक सान्निध्यको सुमधुर पारितोषिक मान्न सकिन्छ ।

नातिकाजीको संगीतमा फत्तेमानको आवाजले भावुकताको परिभाषा उजागर गर्छ । सम्भवतः अधिकाधिक नातिकाजीकै संगीतमा फत्तेमानले स्वर भर्नुभएको छ । विरह र पीडाका अभिव्यक्तिमा फत्तेमानको नरम र मधुर आवाजको मार्मिकताले मनको गहिराइसम्म हलचल गर्न सक्ने प्रभाव हामी सबैले अनुभव गरेकै हौं ।

  • तिम्रो एक एक दुःख .....
  • बिर्सेर ती दिन .....
  • यति चोट सहने .....

माथिका गीतमा पाइने माधुर्य र गाम्भीर्य फत्तेमानका सुमधुर गीतहरुको विशेषता रहिआएको छ । शिवशंकरको संगीतमा पनि फत्तेमानले केही गीत गाउनुभयो । तीमध्ये डा. राममान तृषितको शब्द रचनाको ‘कस्तो माया लाइएछ’ गीत मार्मिकताले गर्दा आफ्नो समयमा निकै चर्चित रह्यो । २०२५ सालमा रेडियो नेपालमा उहाँको आवाजमा रेकर्ड भएर प्रसारित यादव खरेलको शब्द रचना र नातिकाजीको संगीतको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले’ गीत त्यसताका लोकप्रियताको चुलीमा थियो । आज पनि यो गीत श्रोताहरुले त्यतिकै रूचाउँछन् । वास्तवमा यही गीतले फत्तेमान राजभण्डारीलाई उच्चस्तरीय गायकको पहिचान पनि दिलायो । यसै गीतले रेडियो नेपालको आधुनिक गीतको प्रतियोगितामा प्रथम स्थानमा पु¥यायो । यही गीतबाट फत्तेमानको गायकीय स्वरूप निर्माण भएको भन्दा फरक नपर्ला ।

अम्बर गुरूङसँग पनि फत्तेमानको राम्रो सम्बन्ध रहेको थियो । फत्तेमानको सरलता, निश्छलता र मिलनसार स्वभावले उहाँ सबैको प्रिय बन्न सफल हुनुहुन्थ्यो । फत्तेमानको आवाजमा सजिएका अम्बर गुरूङका अति नै लोकप्रियमध्येका यी गीत लोकलयात्मक शैलीमा छन् –

  • जीवन हुरीको .....
  • म फुल्न जानिनँ .....

फत्तेमान राजभण्डारीले केही लोकगीतहरु पनि गाउनुभएको छ । तारादेवीसँग गाउनुभएको उहाँको यस्तै एउटा लोकप्रिय गीत हो –

  • घिन्ताङमा घिन्ताङ मादलु बज्यो .....
  • सान्नानीको गालैमा कालो कोठी रै’छ .....

उहाँको सरल र निश्छल व्यवहार र मिलनसार स्वभावले अधिकांश समकालीन तथा नवप्रतिभाहरुसँग सम्बन्ध पनि सुमधुर रह्यो । शिवशंकर, अम्बर गुरूङ र नारायणगोपालको संगीतमा उहाँले गाउनुभयो । यति मात्र होइन, नयाँनयाँ सांगीतिक प्रतिभाहरुसँग पनि सहकार्य गर्न उहाँ रमाउनुभयो । तीर्थ मालीले संगीतबद्ध गर्नुभएको भूषणप्रसाद श्रेष्ठको नेपालभाषाको गजल ‘मतिना सिमाचाय्’ नेवारी श्रोताहरुमाझ अति नै सफल र चर्चित रह्यो । यही गजल गायकीका लागि नेपालभाषा मंका खलः संस्थाले फत्तेमानलाई अभिनन्दन पनि ग¥यो ।

पाकिस्तानका गजल बादशाह मेहन्दी हसनको गायकीबाट प्रभावित फत्तेमानका गीतहरुमा पनि यसको झलक हामी पाउँछौं । गायकीमा परिपक्वता र सामथ्र्य उहाँका गीतहरुमा हामी सशक्त रूपमा पाउँछौं ।

सानै उमेरदेखि पशुपति क्षेत्रको आध्यात्मिक प्रभावमा परेर भजन गाउने फत्तेमान सदा साधनारत भई संगीतका विविध विधाहरुमा आफ्नो गलाको जादूबाट श्रोतालाई मन्त्रमुग्ध बनाउन सफल रहनुुभयो ।

असंख्य सुमधुर गीतहरुद्वारा श्रोताहरुलाई रिझाउन सफल कलाकार फत्तेमानको २०५९ साल श्रावणमा एकल गीतको सांगीतिक साँझ भव्य रूपले भयो, जसमा उहाँ संगीतप्रेमी श्रोताहरुलाई आफ्नो स्वर माधुर्यले मुग्ध पार्न सफल हुनुभयो । यसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भएको थियो । यस कार्यक्रमले फत्तेमान राजभण्डारीको असली सांगीतिक स्वरुपलाई श्रोताहरुसमक्ष प्रस्तुत गर्न प्रभावकारी भूमिका निर्वाह गरेको मान्न सकिन्छ । यस्तै गर्दै उहाँ नेपालका शीर्षस्थ गायकका रूपमा सर्वप्रिय बन्नुभयो । यस्ता गुनिला, सुरिला र रसिला कलाकार वास्तवमा देशको गहना हुन् । यस्ता व्यक्तित्वको यथोचित सम्मान गर्नु समाजको परिष्कृतिको परिचायक हो भन्नेमा दुईमत नहोला । फत्तेमान राजभण्डारी जतिजति उमेरमा पाको हुँदै जानुभो त्यतित्यति उहाँको गायकीमा अभूतपूर्व स्पूmर्ति जागृत भयो । अन्तिम समयसम्म पनि संगीतको सिर्जना र गायनमा उहाँको सक्रियतामा कुनै कमी आएन । यस्ता कर्मठ सांगीतिक हस्ती राष्ट्रले गुमाउनु भनेको राष्ट्रिय क्षति हुनु हो । सच्चा कलाकार कुनै भौतिक पद तथा ओहदामा हैन जनजनको मनमा सम्मानित रहन्छ ।

(सभार: सम्झनामा फत्तेमन पुस्तकबाट)

फत्तेमानद्वारा गाईएका गीतहरुको अनुसन्धान
युगगायक फत्तेमानः दृश्य–अदृश्यमा

- प्रकाश सायमी

नेपाली संगीतका पाँच युगमा विशेष चर्चा हुने युग हो, नेपाली संगीतको स्वर्णिम युग । यो युगलाई क्रमबद्ध रूपमा हेर्दा २०१८ देखि २०३५ सम्म मानिन्छ ।

लगभग यो दुई दशकको समयावधिमा नेपाली संगीत आकाशमा धेरै यस्ता होनहार कलाकार आए, जसले नेपाली समाजलाई समृद्ध, सम्पृक्त र सशक्त बनाए । यसमा चार पक्षको सशक्त भूमिका रह्यो, गायक, संगीतकार, गीतकार र श्रोता समाज । नेपालीभाषी श्रोताले जमेर नेपाली गीतसंगीत सुने र तत्कालीन समाजमा हिन्दी गीतसंगीतलाई खुलेर बहिष्कार गरे । त्यसमा रेडियो नेपालको प्रमुख भूमिका रह्यो ।

रेडियो नेपाल स्थापनाको ठीक नौ वर्षपछि आएका यी कलाकारमध्ये नारायणगोपाल, माणिकरत्न, अरूणा लामा, अम्बर गुरूङ, बटुकृष्ण ज्वाला, बच्चुकैलाश, फत्तेमान राजभण्डारीको महङ्खवपूर्ण भूमिका रह्यो । यद्यपि योभन्दा एक दशकअघि आएका नातिकाजी, हरिप्रसाद रिमाल, उस्ताद भैरवबहादुर थापा, तारादेवी, कोइलीदेवी, धर्मराज थापा, प्रेमध्वज प्रधानको पनि महङ्खवपूर्ण कदम रह्यो भनें उस्ताद साइँला, मास्टर मित्रसेन, उस्ताद बद्री, मास्टर रत्नदासको देन अलग्गै रह्यो । नेपाली संगीतको स्वर्णिम युगमा आएका गायकगायिकाले राम्रा संगीतकार, गीतकार पाए । त्यस्ता भाग्यमानी गायकमध्ये फत्तेमान राजभण्डारी एक हुन् ।

(सभार: सम्झनामा फत्तेमन पुस्तकबाट)

Phatteman Foundation Memorial Society (PFMS)


फत्तेमान फाउण्डेसन मेमोरियल सोसाईटी



Emai:phattemanfoundation@gmail.com