तपाईंको बारेमा मैले एउटा जोक सुनेकी छु । फत्तेमानलाई गीत गाउँदा १० वटा जति माइक चाहिन्छ रे । त्यो किनभने तपाईं एक सय ८० डिग्रीको एंगलमा टाउको घुमाउँदै गीत गाउनुहुन्छ ।
त्यो मेरो बानी हो । हल्लिँदै गीत गाउने बानी भएकाले त्यसो भनेका होलान् । त्यो सत्य हो पनि । एकैतिर ढसमस्स बसेर गाइरहन सक्दिनँ । गीतमा डुबेपछि टाउको र हात आफ से आफ गीतको तालमा दायाँ–बायाँ नाच्न थाल्छन् । त्यसलाई जोकभन्दा पनि मेरा शुभचिन्तकले गरेको कामना ठान्छु म ।
थुप्रै भजन गाउनुभयो । पहिलो भजन रेकर्ड गर्दा लक्का जवान हुनुहुन्थ्यो । युवा उमेरमै भजनतिर केले तान्यो ?
यो त अहिलेका केटाकेटीले सोच्ने कुरा भयो । हाम्रा पालामा मनोरञ्जनका साधन केही थिएनन् । हामी बिहान–बेलुका काका, बुवा, दाजु आदिको पुच्छर लागेर टोलटोलमा हुने भजनकीर्तनका कार्यक्रममा जान्थ्यौं । उहाँहरु सँगसँगै भजन गाउँथ्यौं । हाम्रो हुर्काइ र त्यस बेलाको चलनले भजनमै रम्न सिकायो । यसमै रस बस्यो । ममात्रै होइन, नारायणगोपाल, शिवशङ्कर, नातिकाजीजस्ता गायक भजनबाटै आएका हुन् ।
भजन अर्थात् भगवान्को भक्ति–गान । नास्तिकले भगवान् छँदै छैनन् भन्छन् । हुँदै नभएका भगवान्का लागि गला किन सुकाउनु ?
भजन भनेको राम, विष्णु, श्याम आदिको गुणगान गाउनेमात्रै होइन । भजनमा बिलौना पोख्ने वा गुहार माग्ने गरिन्छ भन्ने पनि होइन । भजन भनेको अर्कै चीज हो । यसमा दर्शन लुकेको हुन्छ । जिन्दगीको सार र यथार्थ हुने भएकाले मलाई भजन गाउन मन पर्छ । २०२५ सालमा तपाईंले आधुनिक गीत प्रतियोगितामा बाजी मार्नुभएको थियो, होइन ? हो । यादव खरेलको शब्द र नातिकाजीको सङ्गीतमा गाएको ‘यस्तो पनि हुँदो रै’छ’ बोलको गीतले मलाई प्रतियोगिता जिताएको थियो ।
रेडियो नेपालको प्रतियोगिता जितेपछि तक्मा त पाइन्छ नै, पैसा पनि दिन्छन् क्यारे । त्यति बेला कति रूपैयाँ पाउनुभएको थियो ?
त्यो बेला हामीलाई शीतल निवासमा भव्य पार्टी दिइएको थियो । राजा महेन्द्रले पदक र पैसा दिए । मैले तीन सय रूपैयाँ पाएको थिएँ । तीन सयमा त्यति बेला एक तोला सुन आउँथ्यो । जग्गै किने पनि भयो । मैले चाहिँ ५०–६० जना साथीभाइलाई घरमै डाकेर भोज ख्वाएको थिएँ ।
त्यसपछि तपाईंले ‘मन बरू गाह्रो हुन्न’, ‘वनै खायो डढेलोले’, ‘बिर्सेर ती दिनहरु’, ‘कस्तो माया लाइएछ’ जस्ता चर्चित गीत गाउनुभयो । प्रायः गीत सेन्टिमेन्टल छन् । किन होला ?
किनभने म रोमाण्टिकभन्दा भावुक खालका गीत गाउन मन पराउँछु । गीतकार र सङ्गीतकारले पनि त्यस्तै गीत ल्याइदिनुभयो । गाएँ, राम्रै भयो । तर रोमाटिक गीत पनि नगाएको होइन । ‘सान्नानीको गालैमा’, ‘घिन्ताङमा घिन्ताङ’ जस्ता गीत पनि गाएको छु ।
‘सान्नानीको गालैमा’ त बडो चञ्चले खालको गीत छ । यो गीत निस्किएपछि सान्नानीहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?
‘सान्नानी’ गीतका लागि रेडियो नेपालमा निकै फर्माइस आउँथे । तर, त्यतिबेला गीत हिट भए पनि त्यसको गायक को हो, कस्तो अनुहारको छ, श्रोतालाई थाहा हुँदैन थियो । रेडियोबाट अनुहार देखिने कुरा भएन, टी.भी. छँदै थिएन । चिठी मलाई निकै आउँथे । ‘तपाईंको स्वर साह्रै मन पर्छ, मान्छे कस्तो हुनुहुन्छ होला ? फोटो पठाइदिनुहोला’ आदि लेखिएका हुन्थे । तिनमा युवतीको संख्या अलि धेरै हुन्थ्यो ।
फोटो पठाई पनि दिनुहुन्थ्यो उनीहरुलाई ?
कहाँ फोटो पठाएर साध्य हुनु ? फोटो पठाउन पनि अहिलेजस्तो सजिलो थियो र ? स्टुडियोमा गएर खिचाउनुपर्यो, धुलाउनुप¥यो । त्यसका लागि पैसा चाहियो । सङ्गीतमा लागेकासँग सुको हुँदैनथ्यो । कसरी पठाउनु ? एकदुईजना भएको भए पनि एउटा कुरा, सयौं चिठी आउँथे । सम्भवै थिएन नि !